इरानसँगको तनावमा ट्रम्पको ‘यू–टर्न’, युद्धविराम लम्ब्याउने घोषणा
रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने घोषणा गरेका छन् । युद्धविराम सकिन केही घण्टा बाँकी रहँदा गरिएको उक्त निर्णयले हजारौँको ज्यान गएको र विश्व अर्थतन्त्र प्रभावित बनेको युद्ध अन्त्य गर्न जारी शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्य राखेको बताइएको छ।
जारी वक्तव्यमा ट्रम्पले पाकिस्तानको अनुरोध स्वीकार गर्दै इरानमाथि हुने भनिएको आक्रमण स्थगित गर्ने सहमति जनाएको बताएका छन्। इरानका नेता तथा प्रतिनिधिहरूले साझा प्रस्ताव तयार पार्ने समय दिन युद्धविराम थप गरिएको उनले उल्लेख गरेका छन् । सात हप्तादेखि जारी द्वन्द्वमा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ।
यद्यपि, ट्रम्पको घोषणा एकपक्षीय देखिएको छ। इरान वा अमेरिकाको सहयोगी इजरायलले युद्धविराम थप गर्ने विषयमा सहमति जनाउने कि नजनाउने भन्ने तत्काल स्पष्ट भएको छैन। ट्रम्पले इरानका बन्दरगाह र तटीय क्षेत्रमा अमेरिकी नौसेनाद्वारा जारी नाकाबन्दी भने कायम रहने पनि बताएका छन्, जसलाई इरानले ‘युद्धको कदम’ को रूपमा व्याख्या गर्दै आएको छ।
यसबीच, इरानका शीर्ष नेताहरूबाट औपचारिक प्रतिक्रिया आएको छैन। तर, रिभोल्युसनरी गाड्र्ससँग आबद्ध तस्निम समाचार एजेन्सीले इरानले युद्धविराम विस्तारको माग नगरेको दाबी गरेको छ । साथै, अमेरिकी नाकाबन्दीलाई बल प्रयोग गरेर तोड्ने चेतावनी पुनः दोहोर्याइएको छ।
संसद् सभामुख तथा प्रमुख वार्ताकारका एक सल्लाहकारले ट्रम्पको घोषणालाई खासै महत्व नदिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्: