कस्तो आउला त बालेन नेतृत्वको नयाँ सरकारको पहिलो बजेट?

१५ जेष्ठ २०८३

काठमाडौं । सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे आउँदो आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।

सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्द्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो । बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आएका छन् ।

आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उनको तयारी छ।

बजेटमा बर्सौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्नेसम्मको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै शिक्षक, निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने तथा व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका कार्यक्रम बजेटमा समेटिँदै छन्।

उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र नेपाललाई एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य अर्थ मन्त्रालयले राखेको छ। यस पटक बजेटको आकार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

अर्थमन्त्री वाग्लेले संसद्मा विनियोजन विधेयकसहित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन्। संवैधानिक प्रावधान अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्छ।

बजेट प्रस्तुत गर्नु अघिल्लो दिन बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी बजेटबारे जानकारी गराइसकेका छन्। पछिल्लो १० वर्षमा बजेटको आकार दुई गुणाभन्दा बढीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ्न सकेको देखिँदैन।