अब पनि हामी एकढिक्का भएर अगाडि बढ्न सकेनौं भने देशको अवस्था भन्न सकिन्नः शेखर कोइराला

६ श्रावण २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।

४४औँ वी.पी. स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कोइरालाले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्रको मात्रै कुरा गरेर उपलब्धि हासिल गर्न नसकिने बताएका हुन् ।

देशको वर्तमान अवस्था अत्यन्त जटिल र संवेदनशील रहेको उल्लेख गर्दै कोइरालाले सबै राजनीतिक शक्ति राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालको अवस्था अत्यन्त भयावह छ। हामी रहन्छौं, माटो यही रहन्छ, तर अवस्था नाजुक ढंगबाट गइरहेको छ । अब पनि हामी एकढिक्का भएर अगाडि बढ्न सकेनौं भने नेपाली कांग्रेसको के अवस्था हुन्छ, त्यो त हुन्छ नै । तर अब हाम्रो चिन्ता नेपाली कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको छ ।’

उनले देशलाई विद्यमान संकटबाट मुक्त गर्न बिपी कोइरालाले २०३३ सालमा भारतबाट फर्किएपछि अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘देशको अवस्था अत्यन्त अप्ठ्यारो र नाजुक अवस्थाबाट गइरहेको छ । त्यसलाई मुक्ति दिलाउनका निम्ति पनि बिपीले ३३ सालमा भारतबाट फर्केर भनेको राष्ट्रिय एकता र मेलमिलापलाई मनन गर्दै हामी अगाडि बढ्न सक्यौं भने पक्कै पनि हाम्रो गन्तव्यमा पुग्न सक्छौं ।’