कप्तानगञ्ज घटनाको उच्चस्तरीय न्यायिक समिति बनाएर निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले कप्तानगञ्जको घटना र त्यसपश्चात् विकसित घटनाक्रममा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको छ ।
आज बसेको कांग्रेसको बैठकले घटनाको छानबिन गर्न माग गर्ने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताएका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो र यस्तो परिस्थिति किन सिर्जना भयो ? यस घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेसको स्पष्ट अडान रहेको छ ।’
अतः न्यायिक छानबिन समिति गठन, गर्न घाइते भएकाको निःशुल्क उपचार, समुचित व्यवस्थापन, तोडफोड र आगजनी भएका धन सम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्ने उल्लेख छ।
सङ्कटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको जनाएको छ ।
पार्टीको नेतृत्व रहेको मधेस प्रदेश सरकार र स्थानीय सरकार तथा जनप्रतिनिधिले नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव, सहिष्णुता, घाइते परिवारलाई आवश्यक सहयोग पुर्याउन तथा सामाजिक सद्भाव अभियानका लागि विशेष अग्रसरता लिने समेत निर्णय गरेको छ ।
पार्टीका हरेक तहका समितिले वडा तहसम्म नै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग समेत संवाद गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टीको कोही पनि सदस्यहरूलाई घटनासँग जोडिएका कुनै पनि मिथ्या सूचना, अफवाह वा उत्तेजनामा नलाग्न तथा हिंसा, उत्तेजना फैलाउने वा त्यस्ता कार्यलाई प्रोत्साहन हुने कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: