शक्तिको पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली नदिन सरकारलाई गगन थापाको सुझाव

२४ श्रावण २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारमा शासकीय अराजकता बढ्दै गएकाले त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकमा सभापति थापाले प्रधानमन्त्रीले सरकार ‘एक्सप्रेस वे’मा हिँडिरहेको भने पनि कानुन र संविधानले तोकेको लेनभन्दा बाहिर जान नपाइने बताएका हुन् ।

उनले सरकारले गति बढाउन पाउने भएपनि शक्तिको पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिन नमिल्ने बताए । उनले भने, ‘एकपटक, दुईपटक गल्ती भयो भने मान्न सकिन्छ । तर, बारम्बार भइरह्यो भने हामीले छुट दिन सक्दैनौँ । कार्यपालिकाले आफ्नो सीमा मान्दैन । न्यायपालिकाको सीमा पनि मेरै ठान्छ । संसद् पनि मेरो आदेश पालक हो भन्ने ठान्छ । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ । यो अराजकताको छुट हुँदैन । अख्तियार प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्न पाइन्छ ?’

सभापति थापाले सरकार बरालिएको बताए । उनले सरकार बरालिएकै कारण नागरिकमा आक्रोश देखिएको बताए । उनले भने, ‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ ।’

सभापति थापाले रास्वपाका सांसदहरूले संसदमा सरकारका गलत कामबारे प्रश्न उठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘रास्वपाका सांसदहरूले संसदमा सरकारले गरेका नराम्रा कामबारे बोल्नु ठिक हो । आफ्नो पार्टी सरकारमा छ भन्दैमा मौन बस्नुपर्छ भन्ने हुँदैन। हामी पनि कांग्रेस सरकारमा रहेका बेला गलत निर्णय र कामको विरुद्धमा बोल्ने गथ्र्यौँ।’