प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न सरकारलाई आङदेम्बेको आग्रह

१५ कार्तिक २०८३

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र कर्मचारीमाथि धरपकड गर्ने घटनाप्रति आपत्ति जनाएका छन्।

शनिबार प्रेस वक्तव्य जारी गरी आङदेम्बेले यस्ता गतिविधिलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्यशक्तिको दुरुपयोगको संज्ञा दिएका छन्।

उनले पछिल्लो समय अदालतमा बिचौलियामार्फत सेटिङ भएको भनिएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भएको र सरकारी अधिकारीहरूलाई सेवाबाट हटाउने प्रयास तथा कर्मचारीको कार्यसम्पादनमा हस्तक्षेप भएका विषय बाहिर आएको उल्लेख गरेका छन्।

यस्ता विषय सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिने तथा साइबर ब्युरोमा बोलाउने कार्यले नेपालमा समाचार लेख्ने वातावरण संकुचित हुँदै गएको उनको भनाइ छ।

प्रधानमन्त्रीको सचिवालय, गृह प्रशासन र प्रहरी प्रवक्ताले घटनाबारे अनभिज्ञता जनाए पनि पक्राउ परेका पत्रकारले प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको आङदेम्बेले उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्रीसहित सरकारका सबै काम कानुनसम्मत हुनुपर्ने बताउँदै अनियमितता र छानबिनका विषयमा स्थापित निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।

संविधानले प्रत्याभूत गरेको वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतामाथि प्रहार हुने गरी भएका गतिविधिको भत्र्सना गर्दै उनले सरकार र राज्यका निकायलाई कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन्। पत्रकार पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने र प्रेसलाई निरंकुशतासामु झुकाउन नसकिने उनको भनाइ छ।