मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज प्रदेशसभा बैठक बोलाएका छन् ।
बैठकको कार्यसूची तय गर्न आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
एक सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्: