पहिलो पटक गाजामा तत्काल र दिगो युद्धविराम माग गरिएको प्रस्ताव राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पारित

१३ चैत्र २०८०

१३ चैत्र, स्वच्छखबर, काठमाडौं । बीबीसी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पहिलो पटक गाजामा तत्काल र दिगो युद्धविराम माग गरिएको एउटा नयाँ प्रस्ताव पारित गरेको छ । प्रस्तावमा सबै बन्धकहरूको तत्काल र निःसर्त रिहा गर्न समेत माग गरिएको छ ।

यसअघिका तीन वटा प्रस्तावमा विशेषाधिकार अर्थात् भीटो प्रयोग गरेको अमेरिका आफ्नो अडान फेर्दै यस मतदानमा सहभागी भएन । बाँकी सबै १४ देशले प्रस्तावको पक्षमा मतदान गरे । मतदानपछि राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले अन्य सदस्यहरूलाई हमासलाई अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले तय गरेको युद्धविराम सम्झौता स्विकार्न दबाव दिन आग्रह गरिन् ।

पछिल्लो यस प्रस्तावलाई परिषद्का १० अस्थायी सदस्यहरूले अगाडि सारेका थिए । अक्टोबरमा युद्ध सुरु भएपछि बारम्बार युद्धविरामको माग गर्न असफल हुँदा सुरक्षा परिषद्मा गतिरोध देखा परेको थियो।