गृहमन्त्रीले देश हुकुमी शासनमा चलाउन खोजेको भन्दै सांसद खतिवडाको आपत्ति

२० जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै आपत्ति जनाएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मापसे गरेकाहरूलाई कानुन विपरित सडकमा उभ्याएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरे । उनले भने, ‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छाैँ, धन्यवाद दिन्छौँ। तर मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’

उनले २००७ सालदेखि हुकुमी शासनविरुद्ध कांग्रेस लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । उनले कानुनी राज्यमा हुकुमी हैन काुननी शासन हुनुपर्ने उल्लेख गरे ।