आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धामा जाने प्रचण्डको उद्घोष

१९ आश्विन २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।

नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उनले  विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए । उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए ।  जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।