नेपालमा ओमिक्रोनका ९ सबभेरियन्ट सक्रिय, एक्सबीबी.१.१६ पनि भेटियो

२१ चैत्र २०७९

२१ चैत, स्वच्छखबर,काठमाडौं । नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् ।

२४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अभियान गौतम भन्छन्, ‘यो नजिताले संसारको कुनै पनि कुनामा म्युटेसन भएको सबभेरिएन्ट तुरुन्तै नेपालमा आएको छ र नेपालमा रोकथामका लागि कुनै पनि उपाय अपनाइएको छैन भन्ने देखाएको छ ।’

उनका अनुसार ओमिक्रोन एक्सबीबी.१.१६ ले हालसालै भारतमा संक्रमण बढाएको थियो । त्यसको करिव दुई सातामा यो संक्रमण नेपाल भित्रिएको स्थल मार्गबाट नेपाल आउनेहरुको नमुना परीक्षणले देखाएको थियो ।

डा. गौतमका अनुसार नेपालमा अबका दिनहरुमा कोरोना संक्रमण अझ बढ्नेछ । किनकी मास्क लगाउन, समाजिक दुरी कायम गर्ने जस्ता सावधानीका उपायहरु अपाइएको छैन । उनले भने, ‘भ्याक्सिन लगाएकाहरु धेरै डराउनुपर्दैन । तर खोप नलगाएका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई गाह्रो पार्नसक्छ ।’

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति