कांग्रेसभित्रका मतभिन्नता संवादबाट समाधान गर्न भण्डारीको आग्रह

१० मंसिर २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले निर्वाचन आयोगबाट पार्टीको विवरण अद्यावधिक भएसँगै विगतका मतभिन्नता र असमझदारी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । भण्डारीले सामाजिक सञ्जालमार्फत पार्टी कुनै एक व्यक्ति वा पुस्ताको मात्र नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट बनेको साझा घर भएको उल्लेख गरेका हुन् ।

उनले पार्टी निर्माणमा सबैको सहभागिता, संघर्ष र लगानी जोडिएको भन्दै आफ्नै घरलाई बलियो बनाउने साझा संकल्पका साथ सबैलाई पार्टीमा सहभागी हुन आह्वान गरेका छन् ।

‘अब विगतका मतभिन्नता र असमझदारीलाई संवादबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउने दायित्व हामी सबैको हो,’ भण्डारीले लेखेका छन् ।

उनले लोकतान्त्रिक पार्टीभित्र नेतृत्व चयनलाई लिएर विमति राख्नुपर्ने कारण नरहेको तर्क गर्दै जनताको चाहनामा जो कोही प्रधानमन्त्री बन्न सक्ने र कार्यकर्ताको चाहनामा जो कोही पार्टी सभापति बन्न सक्ने बताएका छन् ।

इतिहासको विरासत जोगाउँदै वर्तमानको जिम्मेवारी पूरा गर्न र भविष्यका पुस्ताका लागि सक्षम पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका भण्डारीले व्यक्ति, गुट र स्वार्थभन्दा विचार, पार्टी, लोकतन्त्र तथा राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘व्यक्ति होइन, विचार ठूलो; गुट होइन, पार्टी ठूलो; स्वार्थ होइन, लोकतन्त्र र राष्ट्रहित ठूलो !’ भण्डारीको यो आग्रह निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारी तथा विधानसम्बन्धी विवरण अद्यावधिक गरेपछि पार्टीभित्र एकता र सहकार्यको सन्देशका रूपमा आएको हो ।