एकै खेलमा १० गोल, ओलावालेको पाँच गोलमा मछिन्द्रको शानदार जित

२८ चैत्र २०७९

२८ चैत, काठमाडौं । मछिन्द्र एफसीका नायजेरियन फरवार्ड ओलावाले आफिज यो सिजनको शहीद स्मारक ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

एकै खेलमा १० गोल भएको खेलमा ओलावाले एक्लैले ५ गोल गरेपछि मछिन्द्रले मंगलबार च्यासल मैदानमा खुमलटार एफसीलाई ७(३ ले हरायो । जारी लिगमा खराब सुरुवात गरेको मछिन्द्रको यो तेस्रो जित हो ।

अनुभवी प्रशिक्षक किशोर केसीको आगमनपछि लगातार दोस्रो जित निकालेको मछिन्द्र शीर्ष ६ मा प्रवेश गरेको छ ।

७ खेलबाट १२ अंकसहित मछिन्द्र छैटौं स्थानमा उक्लेको हो । मछिन्द्रले ३ जित निकाल्दा २ बराबरी खेलेको छ भने ३ खेल हारेको छ ।

मंगलबारै जावलाखेल युथ क्बललाई हराएर त्रिभुवन आर्मी एफसीले पनि ७ खेलबाट समान १२ अंक जोडेको छ । गोलअन्तरमा आर्मी पाँचौ स्थानमा छ ।

च्यासल मैदानमा भएको खेलमा मछिन्द्रका ओलावलेले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरे ।

उनले २४औ, २८औं र ५५औं मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पूरा गरे । यस्तै ६२औं र ६७औं मिनेटमा पनि गोल गरे । यो सिजनको पहिलो ह्याट्रिक पूरा गरेका उनले यो ह्याट्रिक घाइते खेलाडी छिरिङ गुरुङप्रति समर्पित गरेका छन् ।

विमल घर्ती मगरले पहिलो हाफको इन्जुरी टाइममा र विजय भुजेलले ८६औं मिनेटमा गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउले ६१औं र ८१औं मिनेटमा गोल गरे भने स्टेफेन समिरले ७६औं मिनेटमा गोल गरे ।