आईपीएल : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित
८ वैशाख,स्वच्छखबर, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार पाँच हारपछि पहिलो जित निकालेको छ ।
बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै दिल्लीले हारको श्रृंखला अन्त्य गरेको छ ।
पहिलो जितपछि ६ खेलबाट २ अंक जोडेको दिल्ली अझै अंक तालिकाको पुछारमै छ । कोलकताको भने यो लगातार तेस्रो र समग्रमा चौथो हार हो । ६ खेलबाट ४ अंक जोडेको कोलकता आठौं स्थानमा छ ।
बलरहरुको उत्कृष्ट प्रदर्शन र कप्तान डेविड वार्नरको अर्धशतकमा दिल्लीले पहिलो जित हात पारेको हो । वार्नरले सर्वाधिक ५७ रन बनाएपछि दिल्लीले १२८ रनको लक्ष्य १९।२ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ४१ बल खेलेका वार्नरले ११ चौका प्रहार गरे ।
मनिस पाण्डेले २१ र पृथ्वी शले १३ रन जोडे । अक्षर पटेलले २२ बलमा अविजित १९ रन बनाए ।
कोलकताका वरुण चक्रवर्ती, अनुकुल रोए र कप्तान नितिश राणाले समान २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।
कोलकताका लागि ज्यासन रोएले सिजनको पहिलो खेल खेल्दै सर्वाधिक ४३ रन बनाए । ३९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।
आन्द्रे रसेलले ३१ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा अविजित ३८ रन बनाए ।
बलिङमा दिल्लीका इशान्त शर्मा, एनरिक नोर्किअ, अक्षर पटेल र कुलदिप यादवले समान २ विकेट लिए । मुकेश कुमारले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्: