१९ औं एसियाली खेलकुदको तयारीका लागि सचिवालय स्थापना

१९ जेष्ठ २०८०, शुक्रबार १३:०६

१९ जेठ, स्वच्छखबर,काठमाडौं । चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि सचिवालय स्थापना गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा नै १९ औं एसियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार आगामी असोज ६ गतेबाट सुरु हुने १९ औं एसियाली खेलकुदको सचिवालय उदघाटन गरे ।

त्यसअवसरमा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति थियो ।

सचिवालयको उदघाटन गर्दै मन्त्री लिम्बूले एसियन गेम्समा नतिजा निस्कने गरि काम गर्न निर्देशन दिए । नतिजा निकाल्न एकजुट भएर काम गर्न मन्त्री लिम्बुले आग्रह समेत गरे ।

सदस्य–सचिव घिसिङको संयोजकत्वमा गठन भएको सचिवालय १० सदस्यीय छ ।

राखेपका २ सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव १, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य रहेका छन् ।

तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.