मुख्यमन्त्री पदमुक्त भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा, नयाँ सरकार गठनका लागि आह्वानको तयारी

१५ असार २०८०, शुक्रबार १४:४५

१५ असार, स्वच्छखबर। कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वास गुमाएको पत्र पठाएको हो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्दा ४६ मत मात्रै पाए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

शुक्रबार मुख्यमन्त्रीको प्रस्तावपछि मत विभाजन हुँदा उनको पक्षमा ४६ र विपक्षमा ४३ मत पर्‍यो। जसपा सांसद निर्मला लिम्बू र प्रतिपक्षी दलका दुई सांसद अनुपस्थीत रहे ।

मुख्यमन्त्रीले प्रदेशसभाको विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले प्रदेशसभा सचिवालयको पत्र आइसकेको बताए । पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए।

प्रदेश प्रमुख निकट स्रोतका अनुसार आज नै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन्।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.