एमालेले ३३ किलो सुन तस्करी प्रकरणको फाइल गुपचुप राखेको विश्वप्रकाशको आरोप

२३ श्रावण २०८०

२३ श्रावण, स्वच्छखबर, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद अवरुद्ध गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले राज्यका अंगलाई अविश्वास गर्न नहुने बताएका हुन् । उनले एमालेले प्रहरीलाई विश्वास गर्न नसकेको हो भन्दै प्रश्न गरे ।

उनले एमालेले ३३ किलो सुन तस्करी प्रकरणको फाइल गुपचुप राखेको आरोप लगाए । उनले भने, ‘अहिले साथीहरू उच्चस्तरीय समितिको कुरा गर्दै हुनुहुन्छ तर ३३ किलो सुन तस्करी प्रकरणमा छानबिन त परको कुरा फाइल सामसुम पारियो। अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ, के सिआइबीप्रति आंशका हो ?’

उनले विमानस्थलबाट सुन आउँदै गर्दा सरकारको एउटा निकायले कमजोरी गरेको र सिनमंगलबाट सरकारकै अर्को निकायले पक्रिएको भन्दै अनावश्यक शंका गरिएको बताए । उनले भ्रष्टाचारका फाइलहरू क्रमशः खुल्दै जान थालेपछि एमालेले अनावश्यक शंका गरेर विषयान्तर गर्न खोजेको आरोप लगाए ।

उनले सरकारलाई सोध्नुपर्ने धेरै विषयहरू आफूहरूसँग भए पनि सदन अवरोध हुँदा सोध्न नपाएको गुनासो गरे । उनले भने, ‘संसद प्रतिपक्षको भनेर भनियो । प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ । प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’