सरकारको स्थायित्वमा कुनै शङ्का नगर्दा हुन्छः उप्रधानमन्त्री खड्का

२७ श्रावण २०८०

२७ श्रावण, स्वच्छखबर, काठमाडौँ ।  उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताएका छन् ।

शनिबार नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनमा उनले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा जनताको पूर्ण समर्थन पाइरहेकाले स्थायित्वमा कुनै शङ्का नगर्न सुझाव दिए ।

उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पारे । नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधैँ तयार रहेको पनि बताए ।

उपप्रधानमन्त्री खड्काले नेपालमा टेलरिङ व्यवसाय प्राचीनकालदेखि नै मर्यादित र विशिष्ट व्यवसायका रुपमा परिचित रहेको उल्लेख गरे । उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायमा संलग्न व्यक्तिलाई मौलिक व्यावसायिकता र विश्वास कायम राखेर सङ्गठन विस्तारमा ध्यान पुर्याउन सुझाव दिए ।

उप्रप्रधानमन्त्री खड्काले भने, ‘व्यवसायीले कर, राजस्व, ब्याज, ऋण र लगानीबारे उठाएका प्रश्नबारे निजी क्षेत्रसँग छलफल भइरहेको छ, मुलुकको पहिचन र मौलिक संस्कृतिका रुपमा रहेको टेलरिङ व्यवसायको विकास र विस्ताका लागि सरकारको साथ र सहयोग रहन्छ ।’

भ्रष्टाचार, बेथितिलगायत मुलुकको अप्ठेरो परिस्थितिलाई सुधार गर्दै सरकार अघि बढिरहेको बताउँदै उनले सुशासन कायम गरी आर्थिक स्थितिमा सुधार ल्याउन सरकार दृढ रहेको धारणा व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको पहिचान बोकेको तथा परम्परालाई जोगाउन योगदान पुर्याउँदै आएको टेलरिङ व्यवसायले व्यक्ति विशेषको व्यक्तित्व झल्काउने र पहिचान दिलाउन मद्दत गरेको बताए ।

महासङ्घका केन्द्रीय सदस्य नानिराज घिमिरेले मुलुकमा रोजगारी सिर्जना गर्न र व्यापार घाटा कम गर्न टेलरिङ व्यवसायले ठूलो योगदान दिने भएकाले यस क्षेत्रमा संलग्न हुनेलाई व्यावहारिक तालिम प्रदान गर्न आवश्यक विचार प्रकट गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले सेवा क्षेत्रको सम्मानित पेसाका रुपमा टेलरिङ व्यवसाय रहेकाले राज्यलाई स्वरोजगार तुल्याउन र राजस्व सङ्कलनमा महत्त्वपूर्ण सहयोग पुरयाइरहेको बताए ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घका अध्यक्ष गोपाल परियारले आर्थिक सङ्कट, चर्काे ब्याजका बीचमा पनि मुलुकको सम्पदा र संस्कृति जोगाउन टेलरिङ व्यवसायले महत्त्वपूर्ण योगदान दिइरहेको बताए ।

उनले भने, ‘राज्यका सबै कर्मचारीलाई पोसाकका लागि प्राप्त गरेको रकम अनिवार्य रुपमा पोसाकमै खर्च गर्ने व्यवस्था मिलाउन आवश्यक छ । त्यसो भएको खण्डमा व्यवसायीलाई केहीहदसम्म राहत हुनेछ ।’

सो अवसरमा अरू वक्ताहरुले देशमा टेलरिङ क्षेत्रमा अर्बाैंका लगानी रहेको, पाँच लाखभन्दा व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको तथा नयाँ वर्ष, दसैँतिहार र विवाह व्रतबन्धलगायतका औपचारिक कार्यक्रममा राष्ट्रिय तथा औपचारिक पोसाक लगाउने चलनले व्यवसायलाई अघि बढाउन उत्प्रेरित गरिरहेको धारणा राखे ।

समारोहमा मुलुकमा व्यावसायिक रुपमा टेलरिङ स्थापना गर्दै विभिन्न शाखा खोलेर ठूलो सङ्ख्यामा रोजगारीसमेत प्रदान गर्ने अग्रज एवं बागबजारस्थित श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठलाई सम्मान गरियो ।