सुन तस्करी अनुसन्धानका लागि बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा समिति बन्नुपर्छः अध्यक्ष ओली

२८ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूहरुले संसद चलाउन खोजेपनि सरकारले चल्न नदिएको आरोप लगाएका हुन् ।

उनले सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमो क्रियाशील रहेको दाबी गरे । उनले भने, ‘हामी संसद चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्याकजुरुक्क सबै उठेर हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’

अध्यक्ष ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले एक क्वीन्ट सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

उनले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताए । अध्यक्ष ओलीले वहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने माग गरे । उनले संसदीय समिति कस्तो हुन्छ भन्ने कुरा गतवर्ष नै हेरिएको बताए ।

अध्यक्ष ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताए । उनको प्रश्न थियो, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’ उनले समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने पार्टीको नीति रहेको बताए ।

उनले भने,‘यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रम गर्ने पार्टीको स्पष्ट नीति रहेको छ। सरकारको संरक्षणमा तस्करीका धन्दाहरू मौलाउन थालेका छन्। सरकारले विपक्षीहरू प्रति प्रतिशोध साँध्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्दत छ ।’