एमालेद्वारा संसद बैठक अवरुद्ध, बैठक एकसाताका लागि स्थगित

२९ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण सोमबारको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ । एमालेले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरे ।

त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए । शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराएका थिए ।

शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए । एमालेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।