अल नासर पहिलो खेलमै पराजीत

३० श्रावण २०८०

३० श्रावण, स्वच्छखबर,काठमाडौँ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको अल नासर साउदी प्रो लिगको पहिलो खेलमै पराजीत भएको छ । सोमबार राति भएको आफ्नो पहिलो खेलमै अल नासर अल इत्तिफाकसँग २-१ गोलले स्तब्ध बनेको हो ।

प्रिन्स मोहम्मद बिन फाहाद स्टेडियममा भएको खेलमा अल इत्तिफाकलाई जीत दिलाउन रोबिन क्विसन र मोउसा डेम्बेलेले समान एक-एक गोल गरे । अल नासरको लागि साडियो मानेले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता दिलाउन नसक्दा अल नासर पराजीत हुन पुगेको हो ।

खेलको चौथो मिनेटमै मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । मानेको अल नासरबाट यो पहिलो गोल हो । ४७ औं मिनेटमा रोबिनले गोल गर्दै अल इत्तिफाकलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ५३ औं मिनेटमा डेम्बेलेले गोल गर्दै इत्तिफाकलाई २-१ गोलको अग्रता दिलाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अल इत्तिफाक २-१ गोलले विजयी भएको हो । जीतसँगै अल इत्तिफाकले तीन अंक जोडेको छ ।