चिनियाँ नगरिकसँगको फोन संवादमा सुन तस्करीको विषयमा कुरै भएको छैनः उपाध्यक्ष महरा

३० श्रावण २०८०

३० श्रावण, स्वच्छखबर, दाङ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको अनुसन्धानमा सरकारलाई सघाउने बताएका छन् ।

मंगलबार दाङमा पत्रकारहरुसँग कुरा गर्दै  महराले आफ्नो नाम जोडिएर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र आफूले चिनेको बताए । उनले सुन तस्करी प्रकरणमा आफूलाई विनाकारण मुछिएको भन्दै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे ।

उनले भने, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु ।’

उनले चिनियाँ नगरिकसँगको फोन संवादमा सुन तस्करीको विषयमा कुनै कुरा नभएको दाबी गरे । चिनियाँ नागरिक वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।