कक्षा १२ को नतिजा सार्वजनिक,५१ प्रतिशत पास,यसरी हेर्न सकिन्छ

३० श्रावण २०८०

३० श्रावण, स्वच्छखबर, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बाेर्डकाे आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको  थियाे । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा :

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।