सल्लेका पहिरो पीडितलाई खाद्यान्न लगायतका सामग्री वितरण

१ भाद्र २०८०

१ भाद्र, स्वच्छखबर, दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिका ८ खारेस्थित सल्लेका पहिरो पीडितलाई दुई हप्तापछि खाद्यान्न लगायत राहत पुर्‍याइएको छ । लगतारको वर्षाका कारण आएको पहिरोले विस्थापित बनेर त्रिपालमा बसिरहेका सल्लेका ३४ परिवारलाई दुई महिनाका लागि पुग्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गरिएको हो ।

पहिरो पीडितलाई दोलखा कोरिया समाजले ३० थान ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । समाजले कोरियामा बस्दै आएका दोलखाली लगायतबाट आर्थिक सहयोग उठाएर सिलिन्डर र चुल्हो वितरण गरेको हो । गौरिशंकर गाउँपालिका अध्यक्ष विश्वाश कार्किको समन्वयमा भएको उक्त कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष दावा शेर्पा, सामजिक अभियन्ता दामोदर जोसि र सिताराम थापा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, गौरीशंकर पुस्तकालय, एसबी जर्मन र रिड नेपालको सहयोगमा ३४ पहिरो पीडितलाई १ सय ८० बोरा चामलसहित, नुन–तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेत जानकारी दिए ।

गत श्रावन १८ गते बिहीबार राती परको भीषण वर्षाका कारण वडा नं ८ सल्लेका ३४ घर विस्थापित बनेका थिए । सो पहिरो वडा नं ७ को टोपाटार बस्तीमा पनि पसेपछि सात वटा घरमा क्षति पुगेको थियो । यस्तै, सोही क्षेत्रबाट खसेको पहिरोका कारण टोपाटारमा घर पुरिँदा दुई जनाको मृत्यु, हुनुका साथै दुई जना बेपत्ता बनेका थिए । बेपत्ता भएकाहरु अझै फेला पर्न सकेका छैनन् ।