एसिया यु-२० रग्बी सेभेन्सकाे तयारी पूरा,नेपालसहित आठ राष्ट्रकाे सहभागीता

१ भाद्र २०८०

१ भाद्र, स्वच्छखबर, काठमाडौँ। नेपाल रग्बी संघले शनिबारदेखि शुरु हुने एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा भएको जनाउँदै नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा व्यक्त गरेको छ।

नेपालमा दोस्रोपटक हुन लागेको एशिया रग्बीको प्रतिष्पर्धा शनिबारदेखि दशरथ रंगशालमा शुरु हुँदैछ। संघले शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको र प्रतिष्पर्धामा सहभागी हुने आठ टोली पनि नेपाल आइसकेको जानकारी दिएको छ।

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने उक्त प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले प्रतिष्पर्धा गर्दैछन्। एशिया रग्बी सेभेन्समा पुरुष र महिलामा गरी नेपालसहित आठ राष्ट्रको सहभागिता रहने छ।

पुरुषतर्फ नेपाल समूह ‘बी’मा छ। प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन्। यो समूहमा विजेता बन्दै उपाधि दाबेदारको रूपमा आफूलाई उभ्याउने तयारी नेपालको छ। तर, त्यसका लागि नेपालले पहिलो खेलमा भारतको चुनौती पार गर्नुपर्नेछ।

महिलातर्फ भने राउन्ड रोविन लिगमा खेल हुनेछ। चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले फाइनलमा पुग्ने लक्ष्य लिएका छन्। महिलातर्फ भने नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ।

यस खेलमा करिब दुई सय विदेशी खेलाडी र २५ जना खेल निर्णायक नेपाल आएको संघले जनाएको छ। यसै प्रतियोगिताका लागि एशिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आइसकेका छन्।

नेपालले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको संघका महासचिव गोविन्द घिमिरेले बताए। प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको र नेपालका दुवै टोलीले उपाधि जित्ने विश्वास घिमिरेले व्यक्त गरेका छन्।