एसिया यु–२० रग्बीमा नेपालको पुरुष टोली सेमिफाइनल पुग्न असफल

२ भाद्र २०८०

२ भाद्र, स्वच्छखबर, काठमाडौँ। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ ।

दशरथ रङ्गशालामा आजदेखि सुरु भएको एसिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार व्यहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो ।

नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो । समूहका तीनै खेलमा नेपाल पराजित हुनपुग्यो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार व्यहोर्यो । अब नेपालले पाँचौँ स्थानका लागि भोलि उज्बेकिस्तासँग खेल्नेछ । भोलि हुने सेमिफाइनलमा चाइनिज ताइपेइले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

यता महिलातर्फ पनि डबल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले तीन खेलमा नै हार व्यहोरेको छ । नेपाली युवा टोलीले तीन खेलमा नै हारको सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।

महिलाको लिगमा प्राप्त अङ्कका आधार शीर्ष तीन निर्धारण हुनेछ । पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार व्यहोर्यो । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो । तेस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो ।

दुईदिने प्रतियोगितामा भोलि नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभएको थियो । उद्घाटनको अवसरमा एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटालगायतले उपस्थिति रहेको थियो ।