बेलिन्घाम चम्किदा ला लिगामा म्याड्रिडको पुनरागमन जीत

३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर। युवा मिडफिल्डर जुडे बेलिन्घाम चम्केपछि स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा अल्मेरियालाई ३-१ गोलले हराउँदै म्याड्रिडले लगातार दोस्रो जीत निकालेको हो ।

पावर हाउस स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन बेलिन्घामले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपे । खेलको तेस्रो मिनेटमै सजियो अरैबासले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा बेलिन्घामले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए ।

६० औं मिनेटमा टोनी क्रुसको क्रसमा बेलिन्घामले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाएका थिए । यस्तै ७३ औं मिनेटमा बेलिन्घामको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको जीत दिलाएका हुन् ।

जीतसँगै म्याड्रिड दुई खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन अल्मेरिया पुछारमा छ ।