‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सफल भएकोमा फाउन्डेसनलाई धन्यवाद

३ भाद्र २०८०

३ भाद्र, स्वच्छखबर, काठमाडौं । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी र स्वच्छ खबर साप्ताहिकका प्रबन्ध निर्देशक आरती लुइँटेल भारतीबीच भेटवार्ता भएको छ ।

भेटमा नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रमबारे छलफल भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं स्वच्छ खबरका प्रकाशक/संचालक मोतिलाल भारतील जानकारी दिए । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स् हलमा भएको उक्त कार्यक्रम सफल रुपमा सम्पन्न भएकोमा फाउन्डेसनलाई धन्यवाद दिदै अध्यक्ष भारतीले आगामी दिनमा यस्ता खालका कार्यक्रमहरुमा हातेमालो गर्दै जाने बताए ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका थिए भने ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा(बेल्जियम) भएका थिए ।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार प्रदान गरेका थिए । तीन महिनासम्म छनोट र नेपाल टेलिभिजनबाट प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको थियो । फाउन्डेसनले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आएको छ ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः पुर्याउन सफल भएको बताए। उनले यसबाट संसारका सबै नेपाली खुसी भएका र उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गरेका जनाए।