२९ औं तामाङ प्रसारण दिवस मनाइयो:मातृभाषाको संरक्षण गर्नुपर्नेमा जिसस प्रमुख गौतमको जोड

३ भाद्र २०८०, आईतवार १७:०७

३ भाद्र, स्वच्छखबर,  धुलिखेल । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा शुक्रबार २९ औं तामाङ प्रसारण दिवस मनाइएको छ । उक्त अवसरमा तामाङ पत्रकार संघ संघीय कार्यसमिति र जिल्ला शाखाहरुले तामाङ समुदायका पत्रकारहरूलाई मिडिया अवार्ड तथा पुरस्कार वितरण गर्नुका साथै शुभकामना आदानप्रदान गरेका थिए ।

२०५१ साल भदौ १ मा रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण भएको दिनको स्मरणमा हरेक वर्ष भदौ १ गते तामाङ पत्रकारहरुले प्रसारण दिवसको रुपमा मनाउने गर्छन् । दिवसको अवसरमा शुक्रबार तामाङ पत्रकार संघ काभ्रेले धुलिखेलमा ‘शुभकामना आदन प्रदान कार्यक्रम’ आयोजना गरि दिवस मनाएको हो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै सत्य र तथ्यको आधारमा नयाँ तरीकाले पत्रकारिता गर्न तामाङ पत्रकारहरूलाई आग्रह गर्दै आ-आफ्नो मातृभाषाको संरक्षण गर्नुपर्ने बताए । विदेशी भाषा पैसा तिरेर सिकिरहँदा आफ्नो भाषा चाहिँ लोप हुन दिनु नहुने गौतमको भनाइ छ । तामाङ पत्रकारहको हकहितका लागि सहयोग गरिने प्रमुख गौतमले प्रतिबद्वता जनाए ।

यस्तै, जिल्ला समन्वय समिति काभ्रेका उप प्रमूख रिमबहादुर तामाङले तामाङ समुदायको जन्मदेखिको मृत्युसम्मको संस्कार संस्कृतिको बारेमा जानकारी दिदैं तामाङ समुदायको कला, संस्कृति संरक्षण र सम्वद्र्धनका लागि तामाङ प्रसारण दिवसले सहयोग पुर्याएको बताए । कुनै समय राज्यको नितिमा नै पछि परेको तामाङ समुदाय अहिले अधिकारका लागि लड्न सक्षम भइसकेको बताउँदै उनले तामाङ पत्रकारले समुदायको संस्कृति, भाषा, भेषभुषा जगेर्नामा भुमिका खेल्न सक्नुपर्ने बताए ।

संघकी अध्यक्ष अञ्जली तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव डिल बहादुर थोकर ग्याम्जो, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रोहित श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, संचारिका समूह काभ्रेकी अध्यक्ष सुनिता सापकोटा, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य इकमान लामा, मिलिजुली खबरका सम्पादक भेषराज दनुवार लगायतले प्रसारण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संघको सफलताको कामनाका सार्थै तामाङ समुदायको उत्थानको लागि अझ बढी सशक्त ढंगले अघि बढ्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा संघका कोषाध्यक्ष अशोकबुद्ध लामाले स्वागत मन्तव्य दिएका थिए भने सदस्य जीवन तामाङले कार्यक्रम संचालन गरेका थिए । लगानी अभावका कारण समुदाय केन्द्रित सञ्चारमाध्यमको अवस्था कमजोर बन्न पुगेकाले आगामी दिनमा मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्नका लागि आवश्यक नीति बनाउनुपर्ने देखिन्छ । तामाङ प्रसारण सुरू भएको २८ वर्षमा के कस्ता उपलब्धि भए भन्नेबारे गहन समीक्षा भने त्यती गरेको देखिदैन ।तामाङ पत्रकार संघको हाल दुई प्रदेश कार्यसमिति, २२ जिल्ला कार्यसमिति र एक प्रवास कार्यसमिति रहेको छ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.