नागपञ्चमी :चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला, नाग पोखरीमा दूधको अभिषेक

४ भाद्र २०८०, सोमबार ०६:१५

४ भाद्र, स्वच्छखबर, भक्तपुर।नागपञ्चमीमा विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्षको नागपञ्चमीमा जस्तै मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए।

साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । स्थानीयवासीले आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूल ढोकामा गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौती लगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् । आजको दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पुण्य प्राप्त हुने, मनोकाक्षा पूरा हुने र घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ ।

त्यसैगरी भक्तपुरको नाग पोखरीमा नागको पूजा गरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन मेला यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्य रुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् ।

आजका दिन घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहदै आएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.