कोशीका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

४ भाद्र २०८०

४ भाद्र, स्वच्छखबर, विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नेछन् । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएका थिए ।

उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेका थिए ।

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर विष्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन् । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी  छन् ।

प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने जानकारी गराइसकेका छन् ।