प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित

५ भाद्र २०८०

५ भाद्र, स्वच्छखबर, काठमाडौं ।  प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

सुन तस्करी प्रकरणमा एमालेले एक महिनाअघिदेखि संसदअवरुद्ध पार्दे आएकोमा मंगलबार उच्चस्तरीय छानबिन आयोग गठनमा सहमति गरी संसद सञ्चालन गर्ने तयारी थियो ।

आयोग गठनको मस्यौदा तयार गरी मंगलबार दिउँसो शीर्ष नेताहरूले छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर प्रधानन्यायधीशको शपथग्रहणका कारण मंगलबार शीर्ष नेताहरूको बैठक बस्न नसक्ने भएपछि सहमतिपत्रमा हस्ताक्षर रोकिएको छ ।