तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सातको मृत्यु,१८ जना घाइते

७ भाद्र २०८०

७ भाद्र, स्वच्छखबर, बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको  प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।घाइते १८ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।