विमान दुर्घटनामा वाग्नर समूहका प्रमुख प्रिगोजिनसहित दश जनाको मृत्यु

७ भाद्र २०८०

७ भाद्र, स्वच्छखबर, रुस । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ । रुसको उड्डयन अधिकारीहरूले वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको बताएका छन् ।

विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए । उनीहरूको मृत्यु भएकोबारे क्रेम्लिन वा सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छैनन् । तर आपत्कालीन सेवा प्रदायकहरूलाई उदृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ।

तिनको परिचय भने खुलाइएको छैन । वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ ।

जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन् । पछिल्लो पटक यही साता जारी एक भिडियोमा उनी अफ्रिकामा रहेको बताइएको थियो ।

युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग चर्को झगडा भएको देखिन्थ्यो । बारम्बार उनले रुसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो । राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात् उनी बेलारुसमा गएर बस्ने बताइएको थियो ।

युवा अवस्थामा जेल परेका उनी पछि सफल रेस्टुराँ व्यवसायी बने। पुटिनसँगको निकटताका कारण उनलाई पुटिनको ‘शेफ’ वा भान्से पनि भनिन्थ्यो । वर्षौँसम्म उनले वाग्नर समूहसँग आफ्नो सम्बन्ध अस्वीकार गर्दै आएका थिए ।

तर गत वर्षको सेप्टेम्बरमा उनले वाग्नरको स्थापना आफैँले गरेको बताए । सन् २०१४ मा पहिलो पटक वाग्नरको उपस्थितिबारे थाहा भएदेखि नै उक्क समूह बर्बरताका निम्ति कुख्यात भयो । उक्त समूहका लडाकुहरू युक्रेन, सिरिया अनि पश्चिम अफ्रिकी देशका युद्धहरूमा खटाइएका छन् जहाँ तिनले क्रूर यातना दिएका अनि गैर न्यायिक हत्या गरेका आरोप लागेका छन् ।

वाग्नरका कैयन् लडाकुहरू जेल परेका अपराधीहरूबाट चयन गरिने गरिएको बताइन्छ। तिनले जेल जीवन जिउनुको साटो वाग्नरमा भर्ना हुने छनोट गर्न पाउने बताइन्छ । दुई महिना अगाडि प्रिगोजिनले छोटो समयको विद्रोहको अगुवाइ गरे यता नै अब उनको भविष्य कहाँ पुगेर टुङ्गिएला भन्ने चर्चा रुसभित्र निकै चलेको थियो ।

विमान दुर्घटना भएको एक घण्टा नबित्दै रुसी उड्डयन निकायले विज्ञप्ति जारी गर्दै प्रिगोजिनको नाम यात्रुको सूचीमा रहेको जनाएको थियो । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडनले खासमा के घटना भएको हो भन्ने आफूलाई थाहा नभएको भए पनि रुसमा हुने कुनै पनि घटनामा पुटिन जिम्मेवार हुने उल्लेख गरेका छन् ।

युक्रेनका राष्ट्रपतिका निकट सहयोगी माइखालो पोदोल्याकले यदि समाचार सत्य हो भने त्यसले क्रेम्लिनविरुद्ध जानेलाई मृत्युदण्ड दिइने सङ्केत दिने बताए ।