बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व.साङ्गे लामाको सालिक अनावरण

७ भाद्र २०८०

७ भाद्र, स्वच्छखबर, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व.साङ्गे लामा भज्यूको अर्ध कदको सालिक अनावरण गरिएको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी समितिले कार्यालय परिसर निर्माण गरिएको स्व.लामाको अर्ध कद सालिक अनावरण गरिएका हुन् ।

समितिका अध्यक्ष राजकुमार लामाले समितिका संस्थापक अध्यक्ष स्व. लामाले स्थापना गरेको बौद्धनाथ क्षेत्र विकास धेरै उतारचढाव बिच आजको दिनसम्म आइपुगेको बताए । उनले स्व.साङ्गे लामाले समाज विकासको लागि दीर्घकालीन सोच राखेर उक्त समिति स्थापना गरेको बताउँदै स्थापना गर्दै गर्दा विभिन्न बाधा अवरोधको सामना गर्नुपरेको तितो अनुभव रहेको बताए ।

अध्यक्ष राजकुमारले समाजको लागि निस्वार्थ रूपमा गरेको कामको मूल्याङ्कन र कदर गर्दै समितिका संस्थापक अध्यक्ष लामाको अर्ध कदको सालिक कार्यालय परिसरमा स्थापना गरेको जानकारी दिए ।

१९९६ साल फाल्गुन १० गते जन्मिएका स्व.लामा २०५३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बलबहादुर केसीको मन्त्रीस्तरीय निर्णयबाट बौद्धनाथ क्षेत्र विकास समितिको प्रथम अध्यक्षको रूपमा चयन गरिएको थियो । उनि २०५४ साल माघ १४ गतेदेखि २०५९ साल असार ३१ गतेसम्म समितिको अध्यक्षमा रहेर काम गरेका थिए । लामाको २०५९ साल असार ३१ गते स्वर्गारोहण भएको थियो ।

कार्यक्रममा समितिको कार्यकारी निर्देशक शान्तीमाया तामाङले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् ।उनले भनिन्‚‘समितिका संस्थापक अध्यक्ष स्व.लामाले पुर्‍याएको योगदानको कदर गर्दै सालिक स्थापना गरिएको हो ।’

समितिका संस्थापक अध्यक्ष स्व. लामाको बुहारी डोल्मा लामा र समितिका अध्यक्ष राजकुमार लामाले संयुक्त रूपमा सालिक अनावरण गरेका थिए । कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा समाजसेवी वीरेन्द्र लामा, समितिका संस्थापक अध्यक्ष स्व. लामाको छोरी नुर्बु लामा लगायतले संस्थापक अध्यक्ष स्व। साङ्गेले निस्वार्थ रूपमा समाजमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । उनीहरूले निस्वार्थ रूपमा गरेको कामको मूल्याङ्कन समाजले ढिलो चाँडो गरेको बताएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण संवर्द्धन प्रवर्द्धन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्त्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको भने युवा तथा महिलाहरूको सीप विकासका साथै शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरू र जनचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ ।