इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता,प्रथम हुनेले एक लाख पाउने
८ भाद्र, स्वच्छखबर, पाटन । इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिएका हुन् । उक्त कार्यक्रमका लागि पाटन म्युजियमको सहयोग रहने जानकारी दिइएको छ ।
कला क्षेत्रको विकास र परम्परादेखि चलिआएको संस्कृति संरक्षणका लागि प्रतियोगिता गर्न लागिएको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए । प्रतियोगितामा नेपालभरिका कलाकारहरुले भाग लिन सक्नेछन् । “जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन्”, वडा अध्यक्ष शाक्यले भने ।
प्रतियोगितामा प्रथम हुने गीतले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था छ । त्यस्तै, दोस्रोका लागि ७५ हजार र तेस्रोका लागि ५० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
चौथो स्थानमा पर्नेले सान्त्वना स्वरुप २५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट संगीतकार र रचनाकारले समेत जनही २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सबै उमेर समूहका व्यक्ति वा समूहले भाग लिन पाउने उक्त प्रतियोगितामा समावेश हुने नेपालभाषाको गीत ३ देखि ५ मिनेटसम्मको हुनुपर्ने नियम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: