बाल संगठनको जग्गा बिशाल ग्रुपको कब्जामा,२८ रोपनी हडप्ने दाउ,रिता सिंहलाई प्रलोभनमा पारी विशालकै योजना मुताबिक ब्रहम्लुट
९ भाद्र, स्वच्छखबर, काठमाडौं । यतिबेला ललिता निवासको सरकारी जग्गा मात्रै हिनामिना भएको छैन । नक्सालमा रहेको नेपाल बाल संगठनको जग्गा पनि कौडीको भाउमा स्वाहा बनाउने काम भएको छ । र यसको गन्दा धन्धा चलाउने पात्र हुन्, कुनैबेलाका सर्वमान्य नेता गणेशमान सिंहकी पुत्री रिता सिंह वैद्य । रिताकै आँडमा बाल मन्दिरभित्रको जग्गा नेपाली बजारमा सर्वाधिक विवादित छबिको ठूलो व्यापारिक घराना विशाल ग्रुपको कब्जामा पुगेको छ । यसका लागि विशाल ग्रुपले बृहस्पति विद्यासदनको नामबाट पुरुषोतमराज जोशीलाई अगाडि सारेको छ । जोशी बृहस्पति विद्यासदनका संस्थापक हुन् । जोशीमार्फत विशाल ग्रुप पछि मनोजकुमार मिश्र जस्ता ठूला पात्रले यस लुटकाण्डमा जोडिएका छन् ।
रिताको परिचय
नाम : रिता सिंह वैद्य
जन्मघर : काठमाडौंको चाक्सीबारी
बुबा : लौहपुरुष गणेशमान सिंह
आमा : मंगलादेवी सिंह
भाई : काँग्रेसका शक्तिशाली नेता प्रकाशमान सिंह
भाई बुहारी : काठमाडौं महानगरको मेयरमा बालेन शाहसँग पराजित सिर्जना सिंह
गणेशमान सिंहको खानदानी परिवारमा हुर्किएर संस्कार भरेकी रिता आफ्नै बाउको निष्ठा र त्यागविपरित गएर बाल संगठनको जग्गा हडप्ने प्रमुख पात्र बनेकी छिन् । ३० बर्षसम्म बाल संगठनको नेतृत्व गर्दा बाल मन्दिरको इज्जत, प्रतिष्ठा र भौतिक पुजी सबै स्वाहा बनाएर कंकाल जस्तो छोड्ने काम उनैबाट भएको तथ्य प्रमाणले देखाउँछ । जसका कारण बिशाल ग्रुपले बालमन्दिरको जग्गामा अहिले कब्जा हानेको छ ।
पृष्ठभूमि
२०१७ सालमा राजा महेन्द्रको निम्तोमा नेपाल आएकी बेलायती महारानी एलिजाबेथले अनाथ, असहाय बालबालिकाको संरक्षणमा सरकारले खेल्ने भूमिकाबारे राजपरिवारसँग कुरा गरेकी थिइन् । एलिजावेथको कुराले रानी रत्नराज्यलक्ष्मी शाहलाई प्रभावित पारेपछि बाल संगठनको अवधारणा बनेर २०२१ सालमा स्थापना भएको हो । पछि राणा प्रधानमन्त्री भीमशमसेरको निधन भएपछि उनकी पत्नी बस्दै आएको सीता भवन पनि सरकारले अधिग्रहण गरि बाल संगठनकै नाममा ल्यायो । सीताको आवास रहेको ११९ रोपनी १२ आना क्षेत्रफल र सबै घरहरु बालसंगठनलाई प्राप्त भयो । त्यतिबेलासम्म बाल संगठनको अस्तित्व ठिकठिक थियो । देशभरका सबैजिल्लामा बालमन्दिर स्थापना भए । तर २०४७ सालमा गणेशमानकी पुत्री रिता बाल संगठनको नेतृत्वमा आएपछि बर्बादी सुरु भयो । काँग्रेसकै कृष्णप्रसाद भट्टराई पछि २०४८ सालमा प्रधानमन्त्री बनेको गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले रिताकै दबाबमा विधान संसोधन पारित गरि चल अचल सम्पत्ति केन्द्रीय कार्यसमितिले बेच्न पाउने प्रावधान राख्यो । विधानमै सम्पत्ति बेच्न र भाडामा लगाउन पाउने व्यवस्था गरेपछि रिताले बाल संगठनको जग्गामाथि लुट मच्चाउने श्रृखंला सुरु गरिन् । र यहाँ इन्ट्री भयो, पुरुषोत्तम राज जोशीको । जोशीले काठमाडौंको मैतिदेवीमा २०४२ सालदेखि नै स्कुल सञ्चालन गरिरहेका थिए । उनको सम्बन्ध रिताका पिता गणेशमानसँग निकै निकट थियो । त्यही सम्बन्ध देखाएर जोशीले बालमन्दिरको जग्गा भाडामा दिन प्रस्ताव गरेपछि रिताले पहिलो आग्रहमै ओके गरिन् । र बाल संगठनको जग्गाभित्र बृहस्पति विद्या सदनको प्रवेश भयो । जसकै बलमा अहिले विशाल गु्रपले कब्जा हान्न सफल भयो ।
सम्झौताका शिलशिलाबद्ध चाङ
हामीलाई प्राप्त यो सम्झौतापत्र हेर्नुहोस् । २०४९ माघ २७ गते रिता र जोशीबीच सम्झौता भएर घर टहरा बनाई भोगचलन गर्ने सहमति भएको छ । सम्झौता तीनबर्षका लागि मासिक ५० हजार भाडा बुझाउने सर्तमा गरिएको थियो । तर भाडा बुझेको अभिलेख बाल संगठनसँग छैन । अर्थात भाडा रिताको गोजीमा गयो भन्न सक्ने ठाउँ छ । फेरि २०५३ पुस २९ मा भएको अर्का सहमति अनुसार १४ रोपनी ९ आना जग्गा बार्षिक एक लाखका दरले ३० बर्षसम्मका लागि रिताले जोशीलाई भाडामा दिएकी छिन् । सहमतिको पुछारमा जोडियो, दुवै पक्षको पारस्परिक सहमति बमोजिम थप गर्न सकिनेछ ।
२०५८ जेठ ४ गते थप ५ रोपनी जग्गा भाडामा दिने सहमति बन्यो । पुरानो सम्झौता कायम हुँदाहुँदै त्यसको चारदिनपछि जेठ ८ मा फेरि अर्काे सम्झौता गर्दै ४३ बर्षसम्मका लागि भाडामा दिने सहमति गरियो । रिताले व्यक्तिगत लाभ लिएर यस्तो निर्णय गरेको अहिले पनि बाल संगठनका अधिकारीहरु बताउँछन् । किनकि यतिबेलासम्म बृहस्पति विद्यासदनले ठूला ठूला भवन बनाउने र आफुले चाहे अरुलाई पनि भाडामा दिनसक्ने सम्झौता गरिसकेको थियो । यसै बमोजिम अहिले २८ रोपनी ५ आना भोगचलन गरिरहेको उसले पाँच रोपनी जग्गा राय स्कुललाई भाडामा दिएको छ । २९ रोपनी भोगचलन गरेको आफुले मासिक झण्डै साढे सात लाख भाडा बुझाउँछ । तर पाँच रोपनी राय स्कुललाई सबलिजमा दिएर झण्डै २० लाख बढी उठाउँदै आएको छ ।
२०५९ असोज ११ मा गरिएको सम्झौताका सम्बन्धमा विवाद भएर मुद्दा मामिला चल्यो । बोलपत्रसमेत आह्वान नगरी बृहस्पतिसँग पटक–पटक बहाल सम्झौता गर्नुका पछाडी भ्रष्टाचार गर्नेबाहेक अर्काे उद्देश्य देखिन्न । यसविषयमा दिदी रितालाई सम्झाईदिन बाल संठगनका पदाधिकारीले पटकपटक काँग्रेस नेता प्रकाशमान सिंहलाईसमेत आग्रह गरेका थिए । तर उनले पनि वेवास्ता गरे । यस विषयमा अख्तियारमा उजुरी पर्याे । बाल संगठन र वृहस्पतिबीचको जग्गा भाडामा दिने सम्झौता गैरकानुनी थियो भन्ने प्रमाणित गर्याे ।
बाल संगठनले सम्झौता रद्द गर्ने निर्णय गर्दै २०६६ मा बृहस्पतीलाई पत्र थमाएको थियो । तर बृहस्पती सम्झौता रद्द गर्न तयार भएन । बृहस्पतिले समस्यामा पारेपछि रिताले टेण्डर आह्वान गरिन् । यही निर अर्का खेलाडी मनोजकुमार मिश्रको इन्ट्री भयो ।
बृहस्पतीसँग सम्बन्ध बिग्रिएपछि रिता सिंहले आफ्नै पुराना कार्यकर्ता मिश्रलाई जग्गा भाडामा दिन टेण्डर आह्वान गरेकी थिइन । २०६६ कै माघ १३ मा बृहस्पतीलाई दिएकै १३ रोपनी १२ आना १ पैसा जग्गा मिश्रको तरुण सेवा प्रालीलाई भाडामा दिन सम्झौता गरिएको छ । बृहस्पतीसँग बर्षौ लाभ उठाएकी रिता सिंहले अब मिश्रसँग लाभ लिने उद्देश्य राखिन् । जहाँ मिश्रले नयाँ व्यापारीक भवन बनाउन ३ बर्ष निर्माण अवधि र ३५ बर्ष लिज गरि ३८ बर्ष भाडामा चलाउने सम्झौता भएको छ ।
तर यो निर्णयविरुद्ध बृहस्पती सर्वाेच्चमा रिट लिएर पुग्यो । पाँच बर्ष ३ महिनासम्म अदालत मुद्दा मामिला गर्दा धेरै खर्च र क्षति भएको भन्दै बाल संगठन र बृहस्पति मेलमिलाप गर्ने निर्णयमा पुगे ।
मिश्रको कम्पनीलाई लिजमा दिएको जग्गा रिताकै पहलमा फेरि बृहस्पतीले पायो । अचम्म त के भने, २०७२ मा पुरक सम्झौता गर्दै भाडा अवधि बढाएको बाल संगठनले २८ रोपनी ५ आना १ पैसा जग्गा २१३२ सालसम्म बृहस्पतीलाई लिजमा दिने सम्झौता गरेको छ । अझै ५२ बर्ष समय दिएपछि यो जग्गा खाने नीति रहेको बाल संगठनकै केही सदस्यहरु बताउँछन् ।
रिताले गरेको कर्तुतबाट दण्डित बन्दै बर्तमान पदाधिकारी
अहिले तरुण सेवाका मनोजकुमार मिश्रले बाल संगठनका पदाधिकारीलाई कार्यालयमै पुगेर थर्काउने गरेका छन् । रिता सिंह २०७७ सालमा जिम्मेवारी मुक्त भएपछि नयाँ नेतृत्वको रुपमा विद्या उपाध्याय न्यौपाने आएकी छिन् । रिताले गरेको बदमासीमा परेका मिश्र अहिले पनि बेला बाल संगठनको कार्यालय पुगेर गालीगलौज र गुण्डाशैली देखाउने पदाधिकारी बताउँछन् । ‘उहाँले हामीलाई पटकपटक कार्यालयमै आएर थर्काउनुहुन्छ ।’, नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले भनिन्, ‘हाम्रो सीईओलाई उहाँले धेरैपटक गाली गर्नु भयो । आएर गुण्डागर्दीको शैलीमा उहाँ मान्छेहरु प्रस्तुत भए ।’
मिश्रले जग्गा लिजमा लिन रिता सिंहलाई ७५ लाख दिएको सार्वजनिक गरेपछि रिताका भाई तथा काँग्रेस नेता प्रकाशमान सिंहले घरमै बोलाएर मिलापत्र गराएको समेत खुलेको छ । तर यता नयाँ तथ्य खुल्यो, बृहस्पतीको मालिक भनिएका पुरुषोत्तम राज जोशीलाई व्यापारिक समूह विशाल ग्रुपले चलाइरहेको रहेछ । विशाल ग्रुपको अधिकांश लगानी रहेको बृहस्पतीमा जोशीको सानो अंशमात्रै छ । जोशीको १.५ प्रतिशत शेयर रहेका बेला विशाल गु्रपका निकुञ्ज अग्रवाल एक्लैको १३ दशमलब सात ६ चार प्रतिशत छ ।
जोशीका दुई छोराको गर्दा पनि २० प्रतिशत पुग्दैन । तर त्यसबाहेक बिशाल अग्रवाल, सञ्जय अग्रवाल, अर्पित अग्रवाल, अनुज अग्रवालको गरि ५७ दशमलब नौं पाँच सात प्रतिशत सेयर विशाल ग्रुपको छ । त्यसमा त्रिवेणी ग्रुपका मालिक पुरुषोत्तमलाल संघाईकी छोरी श्रद्धा एक्लैको १५ प्रतिशत शेयर छ । विशाल गु्रप र त्रिवेणी गु्रप उनै हुन्, जसले घोराही सिमेन्टदेखि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सरकारी सम्पत्तिमा रजाइँ गरेका मारवाडीहरुले बृहस्पतीको झण्डै २९ रोपनीमध्ये ९ रोपनी जग्गा सबलिजमा लिएर भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त ‘राय स्कुल’सञ्चालन गरिरहेका छन् । भाडामा लिएको बाल संगठनको जग्गालाई बैंक अफ काठमाडौं जो अहिले ग्लोबल आईएमई बैंकमा मर्ज भएको छ, त्यसमा धितो राखेर ३१ करोड ३३ लाख ऋण लिएका छन् । जुन सरासर गैरकानुनी छ । फलतः बाल संगठनको जग्गा रिता सिंहलाई प्रलोभनमा पारेर विशाल गु्रपकै योजना मुताबिक ब्रहम्लुट मच्चिएको रहेछ ।
साभार : news karobar
प्रतिक्रिया दिनुहोस्: