आँखा पाक्ने समस्या बढ्दो:विद्यालय बन्द,बच्नका लागि सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

२० श्रावण २०८०

२० श्रावण, स्वच्छखबर, भरतपुर । यतिबेला विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या लिएर आउने बिरामीको संख्या उच्च छ। पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो।

चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।

भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताइन् । आँखा पाक्ने रोग पिङ्क आई डिजिज विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उनले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताइन् ।यो रोग एक जनाबाट अर्कोमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने जनाउँदै उनले तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने जानकारी दिइन् ।

सुरुमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उनको भनाइ छ ।आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी(कर्निया) मा मसिना–मसिना घाउ गराउन सक्ने उनले जानकारी दिइन् ।

यसबाट बच्नका लागि कालो चस्मा प्रयोग गर्न उनको सुझाव छ । सकभर बिरामीलाई छुट्टै कोठामा राख्दा अझै राम्रो हुने उनको सुझाव छ । उनले भनिन्, “घरमा एउटै बाथरुम हुन्छ, बिरामीले आँखा पुछेर छोएका बत्तीको स्वीच, ढोकाको ह्याण्डीललगायतका ठाउँमा स्वस्थ मानिसले छोएर आँखामा छोइयो भने यो रोग सर्दछ ।”

यो रोग लागेमा अस्पतालमै आएर जचाउन सुझाव दिँदै डा सुवेदीले भनिन्, “परीक्षण नगरी मेडिकलमा गएर औषधि लिनुहुँदैन, मेडिकलमा गएर देखाउँदा आँखा विशेषज्ञले नहेर्न सक्नुहुन्छ ।” कुनै कुनै घटनामा फर्मासिस्टले औषधि दिँदा केही नराम्रो दुर्घटना भएका जनाउँदै उनले आँखा पाक्ने रोग लागेपछि विशेषज्ञ चिकित्सकको राय लिएर मात्रै औषधि राख्न सुझाव दिइन् ।