प्रस्तावित वीर अस्पताल निर्माणका कार्य यथाशीघ्र सम्पन्न गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

२० श्रावण २०८०

२० श्रावण, स्वच्छखबर,भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा स्वास्थ्यमन्त्री बस्नेतले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो । उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भव्यता अध्ययनसमेत गरेको थियो ।

अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युत्को पहुँचको विषयमा केही प्रश्न उठाएको थियो । सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनताको स्वास्थ्यसँग जोडिएको मुलुककै ठूलो गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले अब निर्माण हुन्छ भन्नेमा ढुक्क भएको बताए ।