आईसीसी महिला टी-२० विश्वकपमा भुटानमाथि नेपालको संघर्षपूर्ण जित

१७ भाद्र २०८०

१७ भाद्र, स्वच्छखबर, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले संघर्षपूर्ण जित निकालेको छ । आइतबार बिहान भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले छनोटमा लगातार तेस्रो जित निकालेको हो ।

जितको लागि ४० रनको विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दा १३.२ ओभरमा ७ विकेटको क्षतिमा ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन रुविना क्षेत्रीले १२, कविता जोशीले ९ र सीता राना मगरले ८ रन बनाइन् । नेपालका चार ब्याट्सम्यान खाता नखोली आउट भएका थिए ।

भुटानको लागि अन्जुली घलेले तीन विकेट लिंदा छिरिङ जान्ह्मोले दुई तथा अन्जु गुरुङ र सोनामले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानको लागि देचेन वान्ग्मोले २१ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि पुजा महतोले ३ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिंदा कविता कुँवर, रुविन क्षेत्री र खुशी डंगोलले समान एक-एक विकेट लिए ।

नेपाल लगातार तेस्रो जीतसँगै शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा जित निकाल्न सके नेपाल सेमिफाइनल पुग्नेछ ।