जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनलमा

१८ भाद्र २०८०

१८ भाद्र, स्वच्छखबर, ताप्लेजुङ । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टिमका खेलाडीले गोलका लागि रोचक प्रतिस्पर्धा गरेका थिए । तर गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको हो । फाइनलमा पुगेको सुनसरीले भोलि हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलको विजेतासँग बुधबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनलको अन्तिम खेलमा मङ्गलबार रेड हर्ष फुटबल क्लब इलाम र रेड स्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो भने रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

दार्जिलिङकासहित यो पटक ८ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।