एसिया कप क्रिकेट : सुपर ४ मा पाकिस्तानको विजयी शुरुवात

२१ भाद्र २०८०

२१ भाद्र, स्वच्छखबर, काठमाडौं । पाकिस्तानले एसीसी एसिया कपको सुपर ४ मा विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न सुपर ४ को पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।

जीतको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । पाकिस्तानको लागि इमाल उल हाक र मोहम्मद रिजवानले अर्धसतक बनाए । इमानले ८४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७८ रन बनाउँदा रिजवानले ६३ रन बनाए । उनले ७९ बलमा ७ चौका र एक छक्का प्रहार गरे ।

बंगलादेशको लागि टास्किन अहमद, शोरिफुल इस्लाम र मेहेदी हसन मिराजले समान एक-एक विकेट लिए ।

यसअघि गदाफी स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो । बंगलादेशको लागि मुशफिर रहिमले ६४ र शाकिब अल हसनले ५३ रनको योगदान गरे ।

पाकिस्तानको लागि हारिस राउफले चार, नसिम शाहले तीन तथा शाहिन शाह अफ्रिदी, फहेम अश्राफ र इफ्तिखर अहमदले समान एक-एक विकेट लिए ।