बालबालिकाको सर्वाङ्गीण विकासका लागि अझै धेरै काम गर्न आवश्यक : राष्ट्रपति

३१ भाद्र २०८०

३१ भाद्र, स्वच्छखबर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताउनुभएको हो ।

उहाँले पौडी र घोडचढीले मान्छेलाई स्वस्थ बनाउन सहयोग गर्ने बताउनुभयो । “पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्याएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अहिले त स्विमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।” उहाँले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताउनुभयो ।

बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात् ‘शोक न सुर्ता भोक न भकारी’को रहने गरेको स्मरण उहाँले गर्नुभयो । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भन्नुभयो ।

राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताउनुभयो । तर पनि अहिलेको आधुनिक समयमा बालबालिकाका लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उहाँले उनीहरूको सर्वाङ्गीण विकासका लागि सरकारले अझै धेरै काम गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले बालबालिकाको आधारभूत आवश्यकता सहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिनुभयो ।

मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन् भन्ने कुरा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने यस वर्षको बाल दिवसको नाराले नै पुष्टि गरेको छ भन्दै उनीहरूले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिक लगायतका विविध समस्या रहे पनि बालबालिकाको संविधानप्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको बताउनुभयो ।

बालबालिकाका तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि हो र यसले जीवनभर सन्तोष दिन्छ भन्दै समृद्ध नेपाल तब हुन्छ जब बालबालिकाप्रति सचेत र सजग हुन्छौँ भन्नुभयो । उहाँले असीको दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।