सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि छुट्टै लेन

२ आश्विन २०८०

२ असोज, स्वच्छखबर,काठमाडौँ ।  सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा धमाधम ’डेडिकेटेड लेन’ निर्माण थालिएको छ । सम्बन्धित सडक डिभिजन कार्यालयले द्रूत बस सेवा सञ्चालनका लागि डेडिकेटेड लेनमा ‘रेड मार्क’ गरिरहेको हो ।

२५ वटा बस चलाउने योजना रहेको लेनमा बुधबार संविधान दिवसदेखि द्रूत बस सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको हो । बुधबार दुई वटा बस चलाइने र अन्य बस क्रमैसँग चलाउने योजना रहेको सरकारले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा थाल्न निर्देशन दिएका थिए ।

मन्त्री ज्वालाको निर्देशनपछि यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयार गरेको छ । ‘द्रुत बस सेवा’ असोज एक गतेदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो। तर लामो वर्षातका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क गरिरहेको छ।

रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाइएको हो । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौंमा हुने ट्राफिक जाम कम गर्न मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् । अबदेखि बिहान बिहान ९ देखि ११ र अपरान्ह ४ देखि साँझ ६ बजेसम्म यो बस चल्नेछ ।