इंग्लिस प्रिमियर लिगमा सिटीको लगातार छैटौं जीत

७ आश्विन २०८०

७ असोज, स्वच्छखबर, काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार छैटौं जीत निकालेको छ । शनिबार राति भएको खेलमा नोट्टिन्हाम फरेस्टलाई २-० गोलले हराउँदै सिटीले लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जीत दिलाउन फिल फोडेन र इर्लिंग ब्राउट हालान्डले समान एक-एक गोल गरे । खेलको सातौँ मिनेटमा वाल्करको पासमा फोडेनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा नुनेसको क्रसमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी २-० गोलले विजयी भएको हो ।

जीतसँगै सिटी ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको नोट्टिन्हाम ११ औं स्थानमा रहेको छ ।