कोशीमा एमालेको नेतृत्व चयनका लागि रातभर मतदान, आज दिउँसो मतगणना गरिने

१५ आश्विन २०८०

१५, असोज, स्वच्छखबर,विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । राति भएको मतदानमा ९ सय ७७ जना प्रतिनिधिले मतदान गरेका छन् ।

अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले प्रतिस्पर्धा गरिरहेका छन् । अधिवेशन शुक्रवार उद्घाटन भएपनि मतदान भने आइतबार रातिमात्रै भएको हो । सहमतिको प्रयास असफल भएपछि आइतबार राति १० बजेदेखि मात्र मतदान सुरु भई बिहान सवा ५ बजेतिर मात्र सकिएको थियो ।

मतगणना दिउँसो १ बजेपछि सुरु गर्ने बताइएको छ  । उपाध्यक्षमा टीकाराम चेम्जोड निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा उम्मेदवार रहेका छन् भने उपसचिवमा खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली उम्मेदवार रहेका छन् । दुईवटा उपमहासचिव पदमा तीन जनाको उम्मेदवारी परेको हो ।