महिला कर्मचारीमाथि यौन हिंसा गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

१५ आश्विन २०८०

१५, असोज, स्वच्छखबर,काठमाडौं । महिला कर्मचारीमाथि यौन हिंसाको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन् । पालले एकजना महिला प्रहरीमाथि यौन हिंसा गरेको घटना बाहिरिएको थियो।

उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो। समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो ।

आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएका हुन्। प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायतले पालले राजीनामा दिएको जानकारी दिएका छन् । सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला प्रहरीलाई ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं।’ भनेका थिए । त्यसपछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना बाहिर आएको थियो।