युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोना विजयी

१८ आश्विन २०८०

१८, असोज, स्वच्छखबर, काठमाडौँ। युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोना विजयी भएका छन् । बुधबार राति भएको खेलमा आरबी लेइपजिगलाई ३-१ गोलले हराउँदै सिटीले प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो ।

सिटीलाई जीत दिलाउन फिल फोडेन जुलियन अल्भारेज र जेरेमी डोकुले समान एक-एक गोल गरे । लेइपजिगको लागि इकोमा लोइस ओपेन्दाले एक गोल गरे । खेलको २५ औं मिनेटमा लेविसको पासमा फोडेनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा पोउल्सेनको पासमा ओपेन्डाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

८४ औं मिनेटमा डोकुको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाएका थिए । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा अल्भारेजको पासमा डोकुले गोल गर्दै सिटीलाई ३-१ गोलको  जीत दिलाएका हुन् ।

जीतसँगै सिटी २ खेलबाट ६ अंक जोड्दै समूह ‘जी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट तीन अंक जोडेको लेइपजिग दोस्रो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा बार्सिलोनाले पोर्टोलाई १-० गोलले पराजीत गरेको हो । बार्सिलोनालाई जीत दिलाउन फेरान टोरेसले एक गोल गरे ।

जीतसँगै बार्सिलोना दुई खेलबात ६ अंक जोड्दै समूह ‘एचको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको पोर्टो दोस्रो स्थानमा रहेको छ ।