अपराधीलाई आफ्नो सुविधा अनुसार फरकफरक आधार टेकेर कैद माफी गर्ने प्रचलन रोक्नुपर्छः महामन्त्री थापा

१८ आश्विन २०८०

१८, असोज, स्वच्छखबर, काठमाडौँ। नेपाली कांग्रेस महामन्त्री गगन थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठमा महामन्त्री थापाले फागुन ७, असोज ३ र जेठ १५ जस्ता पवित्र दिनलाई अपवित्र बनाउने काम बन्द गराउनुपर्ने बताएका हुन् ।

उनले आममाफीको नाममा अपराधी छाड्न् प्रवृत्ति रोक्ने कानुन बनाउन सभामुखको ध्यानाकर्षण गराए । उनले भने, ‘हामीले बनाएको कानुनको अपव्याख्या भएकाले, दुरुपयोग भएकाले, बदनियत राखिएकाले गर्दा हामीले नै सच्याउनुपर्ने भएकाले सरकारलाई निर्देशन होस् । पवित्र दिनहरूमा अपवित्र काम गर्ने बदनियत राख्ने कुरालाई सधैंका लागि बन्द गर्न चाहन्छौँ।’

सरकारले आफ्नो सुविधा अनुसार फरकफरक आधार टेकेर कैद माफी गर्ने गरेको भन्दै थापाले एउटै निश्चित प्रबन्ध गर्नुपर्ने बताए । महामन्त्री थापाले नयाँ कानुन बनेपछि विभिन्न मुद्दाका जेलजीवन बिताइरहेका ६ हजार ७४६ जनाले आममाफी पाएका बताए ।

उनले यसबारे सरकारले सदनलाई जवाफ दिनुपर्ने बताए । उनले भने, ‘यो गलत निर्णय भएको छ । सरकारले यसको जवाफ दिनुपर्छ । निर्णय आफू गरेर भाग्न पाइँदैन । ६७० जनालाई माफीमिनाहा गरिएको छ । संविधानको मर्मविपरीत गम्भीर अपराधको दोषीलाई कैद माफी गरिएको छ । बदनियत ढंगबाट भएको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । विरोध हुन्छ, हामी गछौँ ।’

कानुनविपरीत काम गरेर मन्त्रिपरिषद्ले राष्ट्रपति संस्थालाई विवादमा तानेको थापाको आरोप छ । नेपालगञ्जका चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका दिन कैद माफी दिएपछि विरोध भइरहेको छ। चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो।

चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए।