सर्वोच्चद्वारा रिगललाई आममाफी दिनुको कारणबारे सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

१८ आश्विन २०८०

१८, असोज, स्वच्छखबर, काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग योगराज ढकाल(रिगल) लाई आममाफी दिनुको कारण माग गरेको छ । चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दायर गरेको रिटमा बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

यस्तै सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ । आदेशमा रिगललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत् असोज २४ गते साँझ ५ बजेभित्र जवाफ पेस गर्न आदेश दिएको छ । यसैगरी सर्वोच्चले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक र निवेदकको परिवारका सदस्यलाई यथोचित सुरक्षा प्रदान गर्न पनि गृह मन्त्रालयलाई आदेश दिएको छ ।

रिगल संविधान दिवसको अवसरमा आममाफी पाएर असोज ३ गते जेलमुक्त भएका थिए । रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए ।

उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सर्वश्वसहित जन्मकैदको फैसलाअनुसार रिगल २० वर्ष जेल बस्नुपर्ने थियो। तर ५० प्रतिशत पनि कैद भुक्तान नगरी उनले आममाफी पाएका थिए। सरकारको उक्त निर्णयविरुद्ध गत आइतबार हत्या भएका चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।